नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौमा सम्पन्न
नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।
संयुक्त आयोगको बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जनाएका छन् ।
उनले भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्ध बारे छलफल भएको बताएका हुन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।
बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आइपुगेका आएका थिए। मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
