भारतमा भाजपाले बनायो ओडिशाकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार – Nepalboli

भारतमा भाजपाले बनायो ओडिशाकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार

   ८ असार २०७९, बुधबार  

जिते देशकै पहिलो आदिवासी राष्ट्रपति बन्ने

नयाँ दिल्ली-भारतमा एनडीएले राष्ट्रपति पदका लागि झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुको नाम अनुमोदन गरेको छ। मंगलबार साँझ भाजपा संसदीय बोर्डको बैठकपछि उनको नाममा सहमति भएको हो । यस बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहित पार्टीका सबै ठूला नेताहरू उपस्थित थिए। मुर्मुले २५ जुनमा उम्मेदवारी दर्ता गर्न सक्नेछिन् ।

बैठकपछि भाजपा अध्यक्ष जेपी नड्डाले बैठकमा २० वटा नामबारे छलफल भएको बताए। बैठकमा यसपटक पूर्वी भारतबाट दलित महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको थियो । त्यसपछि मुर्मुको नाम अनुमोदन भएको हो । भारतीय प्रधानमन्त्री मोदीले उनलाई बधाई दिँदै भने, ‘उनी महान राष्ट्रपति बन्नेछिन् भन्ने कुरामा म विश्वस्त छु।ु

भाजपाले तीन महिला द्रौपदी मुर्मु, छत्तीसगढका गभर्नर अनुसुया उइके र यूपीका गभर्नर आनन्दीबेन पटेललाई सम्भावित उम्मेदवारको सुचिमा राखेको थियो। झारखण्डको नवौं गभर्नर ६४ वर्षीया द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्जकी हुन्। उनी ओडिशाको रैरङपुरबाट विधायक भएकी थिइन् । उनी गभर्नर बन्ने पहिलो ओडिया नेता हुन्। यसअघि उनी २००२ देखि २००४ सम्म भाजपा-बीजेडी गठबन्धन सरकारमा मन्त्री पनि थिइन्। मुर्मु झारखण्डको पहिलो आदिवासी महिला गभर्नर हुन्।

विपक्षीले पूर्व केन्द्रीय मन्त्री र तृणमूल कांग्रेस (टीएमसी) नेता यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। त्यसपछि सिन्हाले तृणमूल कांग्रेसबाट राजीनामा दिएका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफू राष्ट्रपति चुनावको दौडमा सामेल हुन तयार रहेको संकेत गरेका थिए।

अब हुने राष्ट्रति चुनाव जितेमा द्रौपदी मुर्मु देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । उनीभन्दा अगाडि दलित वर्गका केआर नारायणन र वर्तमान राष्ट्रपति रामनाथ कोविन्द राष्ट्रपति बनेका छन्। तर यो चुनाव मुर्मले जिते आदिवासी समुदायकी पहिलो राष्ट्रपति र प्रतिभा पाटिलपछि यो पदमा पुग्ने दोस्रो महिला हुनेछिन् ।

भारतमा नयाँ राष्ट्रपति चयनको प्रक्रिया असार १५ बाट सुरु भएको छ । उम्मेदवारी दर्ताको अन्तिम मिति असार २९ गते छ । चुनाव गराउनु पर्ने भएमा यही जुलाई १८ मा चुनाव हुने र जुलाई २१ मा नतिजा आउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै