सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्‍यो ८३ करोड जरिवानाको फैसला – Nepalboli

सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्‍यो ८३ करोड जरिवानाको फैसला

   २०८० पुष १६, सोमबार  

सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ । प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा दर्ता गराएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठले गत पुस ४ गते कसुर ठहर गरेका थिए । सोही मुद्दामा सोमबार सजाय निर्धारण गर्दै न्यायाधीशत्रय कुँवर, थापा र श्रेष्ठले जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो । साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ ।

सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । ठाकुरलाई ५ वर्षको जेल सजाय समेत तोकिएको छ ।

नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै