बालकुमारीबाट पक्राउ गरिएका ७३ जनामाथि मुद्दा नचलाइकन छाडियो
ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ७३ जनालाई छाडिएको छ।
आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका ७३ जनालाई शनिबार नै छाडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए। पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई कुनै मुद्दा नचलाई आजै छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।
उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो ।