बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर
तम्घासमा बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउएका छन । शिविरबाट चार सय जनाले सेवा लिएका छन् । आफ्नो जन्मस्थान रेसुङ्गा नगरपालिका ३ भाड गाउँमा आयोजना गरिएको शिविरबाट ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १०८ जनाको सुगर परीक्षण, ४३ जनाको युरिक एसिड, २२ जनाको पिसाब परीक्षण ,६५ जनाको रगत परीक्षण र ९३ जनाले स्वास्थ्य परामर्श लिएको महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नवीन तिरुवाले जानकारी दिनुभयो ।
शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नवीन तिरुवा, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर शम्भु खनाल, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मीद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
बिहेमा फजुल खर्च गर्नुभन्दा कल्याणकारी क्षेत्रमा कार्य गर्दा राम्रो हुने भएकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बस्नेत दम्पतीले बताएका छन ।