बालकुमारी घटनामा प्रहरीद्धारा ७३ जना पक्राउ, छानबिन गर्न समिति गठन – Nepalboli

बालकुमारी घटनामा प्रहरीद्धारा ७३ जना पक्राउ, छानबिन गर्न समिति गठन

   २०८० पुष १३, शुक्रबार  

शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारी इपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए।

उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट एक जना र गोली लागेर एक अर्का गरी दुई जनाको मृत्यु भएको छ। प्रहरीले मन्त्रीको गाडीमा आगजनी भएको घटनाको अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

मध्यान्ह १२ बजेतिर एक्कासी डिउटीमा रहेका प्रहरीमाथि ढुंगामुडा प्रहार भएकोमा प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा ससस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ।

त्यसपछि आक्रोशित भिड तितरबितर गर्न अश्रु ग्याँस प्रहार गर्दा भिड तितरबितर भई बालकुमारीतर्फ जाँदै क्रममा सोही आक्रोशित भिडले मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर टायरबाट हावा फुस्काइ आगजनी गरेको प्रहरीले बताएको छ।

सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआएपछि टियर ग्यास, रवर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणबाहिर गएकोमा भीडलाई थप नियन्त्रण गर्न बल प्रयोग गर्दा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहलाई गोली लागेको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो।

यस्तै दैलेखको महावु गाउँपालिकाका २३ वर्षीय सुजन रावत भागदौडको क्रममा घाइते भइ किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। तर सुजनका आफन्तले प्रहरीको कुटपिटबाट घाइते भएको बताएका छन्।

छानबिन गर्न समिति गठन
मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएपछि उत्पन्न परिस्थितिबीच २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।  गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। समितिमा डीआईजी आचार्यसँगै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै