भ्रष्टाचारका सबै काण्ड शीर्ष नेतृत्वमा गएर टुंगिन्छ भन्ने आम बुझाई छ – कांग्रेस नेता शिवाकोटी – Nepalboli

भ्रष्टाचारका सबै काण्ड शीर्ष नेतृत्वमा गएर टुंगिन्छ भन्ने आम बुझाई छ – कांग्रेस नेता शिवाकोटी

   २०८० पुष १३, शुक्रबार  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचारका सबै काण्ड शीर्ष नेतृत्व र उनका संरक्षितहरु कहाँ गएर टुंगिन्छ भन्ने आम बुझाई नागरिकमा व्याप्त रहेको दावी गरेका छन । छानबिनका लागि बनाइएका आयोग या समिति काण्डहरुलाई विषयान्तर गरेर नागरिकको आँखामा धुलो हाल्नका लागि हो भन्ने भाष्य जवर्जस्त स्थापित हुँदै गएको पनि उनको तर्क छ।

कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावमाथि धारणा राख्ने क्रममा शिवाकोटीले एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्ड जस्ता अनेक काण्डहरु संचारमाध्यममा छ्यापछ्याप्ती हुँदा हातमुख जोर्न संघर्षरत नागरिकहरु सरकारको आरती उतारेर नबस्ने बताएका हुन् ।

उनले सुशासनले भन्दा पनि नयाँ नयाँ काण्डहरुले भ्रष्टाचारका पुराना काण्डहरुलाई ओझेलमा पार्दै गएको तथ्य उजागर गर्दै संचारमाध्यममा आएका काण्डहरुलाई मात्र समेट्ने हो भने पनि औंलामा गन्न गाह्रो पर्ने बताए ।

नेता शिवाकोटीले जताजतै कांग्रेसको नेतृत्व हुँदा पनि काम गर्न नसकेको भन्दै किन सबै निराश छन् भनी खोतल्नुपर्ने बताएका छन् । उनले भने, आज नेपाली कांग्रेस ९ मन्त्रीसहित सबैभन्दा ठूलो साझेदारको रुपमा संघीय सरकारमा सहभागी छ। ४ वटा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ। ३३२ पालिकामा कांग्रेस नेतृत्वमा छ भने २६ सय भन्दा बढी वडामा पनि हाम्रै साथीहरु नेतृत्वमा छन् । सबैतिर हामी नै हामी नेतृत्वमा रहेको यो बेलामा आज हाम्रै साथीहरुसमेत अत्यन्तै निराश देखिन्छन् । असोजको बैठक यता व्यक्तिगत रुपमा घुमेका २२ जिल्लाका स्थानीय नागरिक र पार्टी कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा मैले पाएको साझा कुरा भनेको आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेतासँग रिसाएका छन् ।

उनले आजै दिउँसोको घटनालाई जोडेर भने, नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका छन्। हाम्रै कार्यालय भन्दा केही किलोमिटर पर भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड मात्र होइन आगजनी भएको छ। मन्त्री ज्यान जोगाएर भागे पनि २ आन्दोलनकारीको सरकारी गोली लागेर ज्यान गयो। रिसाएका नागरिक यो तहको विद्रोहमा उत्रनु सामान्य कुरा होइन । आम नागरिकमा सरकार र सरकारी निकायमा पुगेकाहरु भ्रष्टाचार गर्नै पुगेका हुन् भन्ने बुझाइ व्याप्त छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै