रौतहटमा अरुको बैंक खाताको रकम चोर्ने तीनजना पक्राउ
रौतहट स्थित अरूको बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका ४ का वर्ष २५ को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दीपेन्द्रकुमार साह र गुजरा नगरपालिकाका ६ घर भई हाल चन्द्रपुर नगरपालिका १० बस्ने वर्ष ४२ को राज कुमार साह रहेको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
उनीहरूले छुट्टाछुट्टै चार जना मानिसको बैंक खाता बाट २४ लाख भन्दा बढी रुपैयाँ चोरेको अनुसन्धानबाट खुलेको रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिए। उनीहरूमाथि ठगी तथा किर्ते लगायतका मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको एसपी श्रेष्ठले बताए ।
गौर–४ बस्ने जयप्रकाश राय चनौको एनआईसी एसिया र माछापुच्छ्रे बैंकको खाताबाट गत असार २९ गतेदेखि पटक पटक गरी जम्मा १२ लाख,४६, हजार ४४० रुपैयाँ झिकिएको छ ।
गौर–७ बस्ने मिस्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत असार २० गतेयता पटक–पटक गरी जम्मा पाँच लाख रुपैयाँ, गौर–२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत कार्तिक २९ गते ८० हजार, चन्द्रपुर ९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट गत कार्तिक ३० गतेयता पटक पटक गरी जम्मा ६ लाख, ११ हजार, २०८ रुपैयाँ गरी कुल २४लाख, ३७ हजार,६८५ रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न थप २ जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।