नेपालगञ्ज उपमहानगरपालिकाका घर ‘मेट्रिक’ प्रणालीमा – Nepalboli

नेपालगञ्ज उपमहानगरपालिकाका घर ‘मेट्रिक’ प्रणालीमा

   १२ पुष २०८०, बिहीबार  

नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ । नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुआत गरेका हुन् ।

पहिलो चरणमा वडा नं १२ का ५० घरमा परीक्षणका रूपमा नम्बर प्लेट राखिने उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको उल्लेख गर्दै दासले वडा नं १ देखि २३ का सबै घरलाई मेट्रिक घर नम्बर प्रणालीमा जोड्ने लक्ष्य रहेको बताए । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

सो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दूरी) का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरी (मिटर)मा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइनेछ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिए ।

मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक, आर्थिक तथ्याङ्क प्रविष्ट गरिएको बताइएको छ । “परीक्षणका रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियो (जिआइजेड) ले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौँ”, इञ्जिनीयर दासले भने, “यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।”

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै