केन्द्रीय कार्यसमिति बैठकमा नेतृ पन्तले भनिन् ‘पटक पटक अवसर पाएकाले मात्रै होइन, नयाँलाई खोजौं’ – Nepalboli

केन्द्रीय कार्यसमिति बैठकमा नेतृ पन्तले भनिन् ‘पटक पटक अवसर पाएकाले मात्रै होइन, नयाँलाई खोजौं’

   २०८० पुष १२, बिहीबार  

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौला पन्तले आसन्न राष्ट्रिय सभाको चुनावमा उम्मेदवार चयन गर्नका लागि स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिएकी छिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा धारणा राख्दै पन्तले पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा पटक पटक अवसर पाएकालाई भन्दा पनि नयाँ र उर्जावानलाई स्थान दिन जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘पटक–पटक अवसर पाइरहेकालाई भन्दा पनि स्पष्ट मापदण्ड बनाएर भविष्यमा पनि त्यही नजिर स्थापित गर्नुपर्छ ।’ यसैगरी अहिले जिल्ला–जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा निराशा रहेको बताउँदै त्यसलाई चिर्नका लागि अब विशेष संकल्प गरेर गुटबन्दी अन्त्य गर्दै जनजीविकाका सवालमा केन्द्रीत हुनु पर्नेमा पनि जोड दिइन् ।

उनले अगाडि भनिन् ‘अहिले नेपाली कांग्रेस, केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जनताले अपेक्षा गरे अनुसार हामीले डेलिभरी दिन सकेका छैनौं । यस बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ वर्ष पूरा गरिसकेको छ । यो एक वर्ष साँच्चिकै लाभदायक रह्यो की, केही साथीहरु मन्त्री हुनुभयो, सेवा सुविधा लिनुभयो भन्ने मात्र भयो, यस विषयमा पनि हामीले केन्द्रीय कार्यसमितिमा मिहिन ढंगले छलफल गर्न जरुरी छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै