योग दैनिक जीवनको एक हिस्सा – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले योग आम नागरिकको दैनिक जिवनको एउटा हिस्साको रुपमा विकसित हुदै गएको बताएका छन । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौ स्थित भारतीय दुतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने दिने गरेकाले यसले आम नागरिक तहमा दैनिक जीवनको एउटा हिस्सा बन्न पुुगेको दावी गरे ।
कार्यक्रममा सञ्चार तथ सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गर्नु पर्नेमा जोड दिएका थिए । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिए ।
भारत सरकारको आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत यो बर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । योग अभ्यासका फाइदाबारे जोड दिदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।
कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए ।
योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको पनि आयोजना गरेका थिए । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपामा आयोजना गरेका थिए ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।