आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ उडान बन्द
पोखराको साराङकोटबाट उड्ने प्याराग्लाइडिङ आन्तरिक विवादका कारण बन्द भएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले तत्कालका लागि उडान बन्द गरिदिएको हो । नेपाल हवाई खेलकुद संस्था पोखराले आफू खुसी दर तोकेर बुकिङ गर्न पाउने गरी खुला गरिदिएपछि विवाद उत्पन्न भएको छ । बुकिङ खुला गर्ने र नगर्ने पक्षमा प्याराग्लाइडिङ कम्पनीहरू विभाजित भएका छन् । सोही विवादका कारण देखाएर पाइलटले प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका थिए ।
पोखराको प्याराग्लाइडिङमा हुँदै आएको सिन्डिकेट तोड्ने निर्णय गरेसँगै ५ दिनदेखि पाइलटहरू आन्दोलनमा छन् । ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका १ सय ७ प्यारा पाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।