सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश – Nepalboli

सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

   २०८० मंसिर २९, शुक्रबार  

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार श्रीराम टोबाको उद्योग समेतबाट दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनमा रिट निवेदकहरुले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रुपमा जैविक रुपमा सडेर जाने बायो डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ गर्ने नेपाल सरकारको नीतिगत व्यवस्था अनुरुप आफूहरुले सोही अनुसार सुधारका लागि थप लगानी गरेको र आवश्यक तयारी भइरहेको जिकिर गरेका थिए ।

इजलासले निवेदकहरुले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व समेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ एवं काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकहरुको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुने ठहर गरेको छ ।

यसमा सुविधा सन्तुलन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौँ महानगरपालिकाद्वारा मिति २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै