आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गरेको पर्यटनमन्त्री आलेविरुद्ध उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले उजुरी दिएका छन् ।
आइतबार संसद सचिवालय सिंहदरबारमा अधिवक्ताहरू पौडेल, भट्टराई र कानूनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दिएका हुन्।
आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने, यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट पुर्याउनुका साथै सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको निवेदनमा उल्लेख छ।
शुक्रबार मन्त्री आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो। मन्त्री आलेले कार्यकक्षमै अपशब्द प्रयोग गरी आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको हो।

