पूर्वगृहमन्त्री खाँणको रिहाई सम्बन्धी निवेदनमा आज सुनवाई हुदै, न्यायाधीश कोइरालाको इजलासमा पेशी – Nepalboli

पूर्वगृहमन्त्री खाँणको रिहाई सम्बन्धी निवेदनमा आज सुनवाई हुदै, न्यायाधीश कोइरालाको इजलासमा पेशी

   २८ मंसिर २०८०, बिहीबार  

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफनो रिहाई बारे दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश पाण्डेले खाँणलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएका थिएनन् । त्यसैले खाँणको विषय तेस्रो न्यायाधीशको पेश भएको हो ।

आज सुनुवाइ गर्ने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

१५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै