भूकम्प प्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन्। हालसम्म तीन हजार पाँच सय अस्थायी आवास निर्माण भएका छन्। स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो।
भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्प प्रभावितलाई स्थानान्तरण गरिएको छ।
प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबीसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा छ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो।
पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्धावृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताए।
त्यस्तै, नेपाली कांग्रेस रुकुम पश्चिमले पनि भूकम्प प्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ। हालसम्म नेपाली कांग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए।
नेकपा (एमाले)ले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न स्वयंमसेवकको लागि लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशबाट दुई सय ५० जना र जिल्लाका ५० जना गरेर तिन सय स्वयंसेवक अस्थायी आवास निर्माण गर्न परिचालन भएका थिए।
एमालेले हालसम्म आठबीसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ।
नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ। आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष तथा अस्थायी आवास निर्माणको नेतृत्व गरिरहेका पार्टी उपाध्यक्ष पुरीले जानकारी दिए।