देशलाई लज्जित बनाउने गरि विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी
फ्लाई दूबईको उडान नं एफजेड–५७३ मार्फत शनिबार राति ११ः४० बजे काठमाडौं उत्रिएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिम साढे ६ किलो सुन सहित पक्राउ परे ।विमानस्थलभित्रै भन्सार कार्यालयले बिहीबार मध्यराति नै १४ किलो सुन बरामद गरेको थियो । दुबईबाट आएका गोरखाका चन्द्र घले उक्त सुन सहित पक्राउ परेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार चन्द्र घले सन् २०२३ मा मात्रै पाँच पटक दुबई पुगेर फर्किएको भेटिएको छ, जसले यो गिरोहले पहिल्यैदेखि सुन ल्याइरहेको हुनसक्ने संकेत गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि शुक्रबार नागढुंगाबाट २ किलो सुन बरामद गरेको थियो । एसएसपी राठौरका अनुसार, सुराकीका आधारमा स्कर्पियोभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित ३ जनालाई पक्राउ गरिएको थियो ।
कार्यालयले २० मंसिरमा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन समेत बरामद गरेको थियो । प्रहरीका अनुसार, ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेले स्रोत खुल्ने एक किलो सुन आफूसँग हुँदा थप १० किलो अवैध सुन विक्री गर्ने गरेको खुलेको छ ।
‘प्यानमा दर्ता गरेर चलाएको पसलमा उनले एक किलो सुनको विल देखाएर थप १० किलो तस्करीको विक्री गर्ने गरेको सूचना पाएपछि छापा मारेको थियौं’, एसएसपी राठौर भन्छन्, ‘त्यसक्रममा ७ किलो ८ सय ग्राम सुन बरामद गर्यौं ।’
यससँगै काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा मात्रै ३०.३ किलो सुन बरामद भएको छ ।
२ साउनमा राजश्व अनुसन्धान विभागले ब्रेक शुमा लगाएर ल्याएको ६० किलो सुन बरामद गरेको थियो । विद्युतीय सिगरेट (भेप) मा लुकाएर भएको भनिएको ९ किलो सुनका साथै यसमा राजनीतिक संलग्नता आशंका भएपछि उच्चस्तरीय छानबिन गर्ने सहमति भयो । त्यही सेरोफोरोमा दोलखाको लामा बगर क्षेत्रमा ११ किलो सुन बरामद भयो । अभियोग दायर गर्ने क्रममा प्रहरीले सोही समूहले ३३ किलो तस्करी गरिसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
२०७४ सालमा पनि तस्करीको ३३ किलो सुन हराएपछि भरिया सनम शाक्य मारिँदा सुन प्रकरण चर्चामा आएको थियो । त्यसबेला सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।
समितिले विमानस्थल सुरक्षामा गम्भीर प्रश्न औंल्याउँदै प्रतिवेदन दिएपनि त्यसलाई सरकारले न सार्वजनिक गर्यो न त सुझावहरु नै कार्यान्वयनमा लग्यो । अहिले फेरि अर्को आयोगले सुनबारे छानबिन गरिरहेका बेला दिनहुँजसो सुन बरामद भइरहेका छन् ।
गत बषएको ८ पुस २०७९ मा सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनले तस्करी गर्न खोजेको १९ किलो सुन पनि ‘वाक थ्रु’ गेटमा डिटेक्ट भएको थिएन । उनले बोकेको अर्धठोस सामान जाँच्दा १९ किलो सुन रहेको पुष्टि भएको थियो । भन्सारका कर्मचारीहरुले १८ माघ २०७९ मा पनि ९ किलो १३५ ग्राम सुन विानस्थलवाटै समातेका थिए ।