सप्तरीमा नगर प्रमुखको फर्जी हस्ताक्षर गरेर मल सिफारिस गरेको खुलासा – Nepalboli

सप्तरीमा नगर प्रमुखको फर्जी हस्ताक्षर गरेर मल सिफारिस गरेको खुलासा

   २०८० मंसिर २४, आईतवार  

सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको पाईएको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बोरा युरिया मल लगेको पाइएको छ ।

नगरपालिकाले वडा ४ को डिलर रहेको मञ्जुश्री सहकारीलाई मङ्सिर १७ गते नै सिफारिस गरिसकेको एकसय १४ बोरा मलखादकै कोटामा सहकारी लिमिटेड बनौलीका सञ्चालक रामप्रकाश शरण चौधरीले नगरपालिकाको फर्जी लेटर प्याड, छाप प्रयोग गरी नगर प्रमुखको नक्कली हस्ताक्षर गरी मलखाद लगिएको बताउनुभयो ।

आफ्नो कोटा अनुसार नगरले गरेको १७ गतेको सिफारिस लिएर पाँच दिनपछि शुक्रवार मल लिन कृषि सामग्री कम्पनी पुग्नुभएका मञ्जुश्री सहकारीका सञ्चालक सन्तोषकुमार साहलाई त्यहाँको कार्यालय प्रमुख सोनेलाल मुरमुरले खडकको कोटा सकिसकेकाले मल नदिएर फर्काएका थिए । आफ्नो कोटाको मल कसले लगेको भनेर सोधखोज गर्दा सो रहस्य खुलेको उहाँको भनाइ छ । आफ्नो सहकारीको नाममा गरेको सिफारिस कोटाको मल खोज्दै सहकारी सञ्चालक साह सिफारिससहित आइतबार नगरपालिका पुगेपछि मल अर्कैले लगेको खुलेको थियो ।

मङ्सिरमा मात्र नगरले आठवटा डिलरलाई मल लग्न दिएको सबै सिफारिसमा कृषि तथा पशु शाखा प्रमुख चन्द्रप्रसाद चौधरीको हस्ताक्षरमा देखिए पनि सहकारी संस्था लिमिटेड बनौलीलाई नगर प्रमुख चौधरीको हस्ताक्षरमा कृषि सामग्री मल उपलब्ध गराउन सिफारिस दिएको छ । नगरको चिठी चलानी नम्बर ५१० रहेको पनि उक्त सिफारिसपत्रमा उल्लेख छ । कृषि सामग्री कम्पनी सप्तरीका कार्यालय प्रमुख सोनेलाल मुरमुरले मेयरकै सिफारिस लिएर आएपछि नहेरी मल दिएको स्विकार्नुभयो ।

कागजात पुर्‍याएर सिफारिस दिने काम सम्बन्धित शाखाको हो र नगरको कार्य प्रक्रिया मिचेर आफूले कुनै सहकारीलाई सिफारिस नदिएको बताउनुभयो । नगर प्रमुख चौधरीका अनुसार विषय गम्भीर भएकाले यसबारे छानबिन हुनुपर्ने बताउनुभयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले त्यसबारे आवश्यक छानबिन हुने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै