विमानबाटै नियन्त्रणमा लिइएको थियो १४ किलो सुन, छानबिन गर्न समिति गठन – Nepalboli

विमानबाटै नियन्त्रणमा लिइएको थियो १४ किलो सुन, छानबिन गर्न समिति गठन

   २०८० मंसिर २२, शुक्रबार  

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए ।

विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो ।

सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताए । प्रमुख प्रशासक पाण्डे बुधवार रातभर र बिहीबार समेत रातभर फिल्डमा खटिएका थिए । बिहीबार विमानबाट ओर्लने बित्तिकै सूचनामा आएको व्यक्तिको हुलिया मिलेपछि उनलाई सोझै एक्सरेमा ल्याएर चेकजाँच गरिएको पाण्डेको भनाइ छ ।

पाण्डेले भने, ‘उनी विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुबाट एक्सरेमा ल्यायौँ । सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सात वटा बिस्कुटमा २ किलोको दरले १४ किलो सुन ल्याएका रहेछन् । हामीले नियन्त्रणमा लिई सुन ल्याउन सहजीकरण गर्ने र नेपालमा रिसिभ गर्ने व्यक्तिलाई पनि समातेका छौँ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए ।

बिहीबार राती फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए । भन्सार कार्यालयलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि सुन बरामद भएको प्रमुख प्रशासक पाण्डेले बताए ।

पाण्डेले भने, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वा थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’

सुन तस्करी अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा डिएसपी सूर्य प्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला र डिल्लु प्रसाद शर्मा तथा शाखा अधिकृतहरू मञ्जु थापा र लोकराज ढुङ्गाना रहेको समिति समेत गठन गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै