चितवनमा मिटरब्याजी साहुले लिएको ७ कठ्ठा बढी जग्गा पीडितलाई फिर्ता
चितवनमा मिटरब्याजी साहुले लिएको ७ कठ्ठाभन्दा बढी जग्गा पीडित ऋणीलाई फिर्ता गरिएको छ। भरतपुर महानगरपालिका–२ घर भएका साहुकारले भरतपुर–४ बस्ने ऋणीको ७ कठ्ठा १३.५ धुर जग्गा फिर्ता गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो। कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा १ करोड ५० लाख र ४ स्थानका ५ वटा कित्ताको जग्गा लेनदेन गरेका थिए।
पहिलो ३ महिनामा पीडितले १ करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा १३।५ धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ। दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख रुपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी १ कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ।
दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ। यसअघि कार्यालयले पूर्वी चितवनका १ जना पीडितको २ कठ्ठा जग्गा छलफलमार्फत् फिर्ता गराइएको थियो। कार्यालयमा २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए।
जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको नासु श्रेष्ठले जानकारी दिए। अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन्।