राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश – Nepalboli

राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

   २०८० मंसिर २१, बिहीबार  

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतलनिवासमा आज आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडलले मानवअधिकारको सबैले उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता लगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानवअधिकारको परिपालना गर्ने संस्कृति निर्माणतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले विद्यालय एवं विश्वविद्यालयका पाठ्यक्रममा मानवअधिकार शिक्षा समावेश गर्नुका साथै जनचेतनाका कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने जरुरी भएको बताए ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार संस्कृति कायम गर्ने मूल ध्येयलाई ध्यानमा राखी मानवअधिकारको संरक्षण र संवर्द्धन गर्न आयोगले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर काम गरेको बताए ।

प्रतिवेदनमा आयोगमा परेका उजुरी, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारसमक्ष गरिएका सिफारिस, मानवअधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ । साथै मानवअधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौती एवं आयोगले चाल्ने भावी कदमबारे समेत प्रतिवेदनमा समावेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै