नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए । किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’
१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।