विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह – Nepalboli

विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह

   २०८० मंसिर १९, मंगलवार  

नेपाल प्रहरीले विदेशमा कार्यरत नेपाली श्रमिकलाई विदेशबाट आधिकारिक माध्यमबाट मात्र रकम पठाउन आग्रह गरेको छ। प्रहरीको साइबर ब्यूरोले एक सूचना प्रकाशित गरी झुठा आश्वासनमा परेर अवैध तरिकाले रकम पठाउँदा ठगी बढेको र कानुनी कारबाहीको भागीदारसमेत हुनुपर्ने भन्दै सचेत गराएको हो।

‘पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरूले विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्नेगरेको पाइएको हुँदा यस्ता झूठा अश्वासनमा नपरी ठगिनुबाट जोगिनहुन, नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ’ ब्यूरोले भनेको छ।

साथै, वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन’ भनी दिने गरेको पाइएको छ।

यसरी विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले ‘हुन्छ, तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु’ भन्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

तर उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यम (फ्राउडरस्क्याम मनी) बाट प्राप्त गैरकानूनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गरि गराइदिने गरेको तथ्य यस ब्यूरोको अनुसन्धानबाट खुल्न आएको छ।

तसर्थ, विदेशमा दुःखरपरिश्रम गरी कमाएको रकम फ्राउडरस्क्याम मनीमा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सिर्जना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन पनि नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै