नेपाल-भारत बिचको विकास परियोजनाहरु बारे अर्थमन्त्रालयमा समीक्षा बैठक – Nepalboli

नेपाल-भारत बिचको विकास परियोजनाहरु बारे अर्थमन्त्रालयमा समीक्षा बैठक

   २०८० मंसिर १५, शुक्रबार  

नेपाल स्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयले भारतसंगको सहकार्यमा रहेको विकास परियोजनाहरु वारेमा कार्यसम्पादन समीक्षा बैठक गरेको छ । भारतीय टोलीको नेतृत्व नेपालका लागि नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली टोलीको नेतृत्व नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले गरेका थिए ।

बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो ।
विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच बैठकमा छलफल भएको थियो । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको भारतीय दुतावासले जनाएको छ ।

अर्थमन्त्री डा महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारेका थिए । उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

बैठकमा भारतीय राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै