कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत – Nepalboli

कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

   २०८० मंसिर १४, बिहीबार  

कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ। राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आबद्ध ६२ प्रतिशत घर परिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ।

लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्याङ्कले देखाएको छ।

बिहीबार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबिचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्याङ्क सङ्कलन सार्वजनिक गर्दै यस्तो बताएको हो।

त्यस्तै, कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसङ्ख्या ३१.४ प्रतिशत रहेको छ। यस्तो तथ्याङ्क प्रदेशगत हेर्दा सबैभन्दा बढी ३४.६ प्रतिशत गण्डकी र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको राष्ट्रिय कृषिगणना २०७८ ले देखाएको छ।

प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबै भन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको देखिएको छ।

केन्द्रीय तथ्याङ्क कार्यालयमा सह–सचिव हेमराज रेग्मीले लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक महिला र पुरुषको सङ्ख्या कति भनेर छुट्टै तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो।

उहाँले दुई सय भन्दा बढी तथ्याङ्कमध्ये कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबिचको असमानताको विषयमा पहिलो पटक राष्ट्रिय कृषिगणना २०७८ का तथ्याङ्कलाई हेरेर वितरण सार्वजनिक गरिएको बताउनुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै