सरकारी दस्तखत किर्ते गरेको कसुरमा नासु पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत किर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल छन्।
उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको किर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो।
उजुरी परेपछि सम्पर्कविहीन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रनाउ चौधरीले बताए।