मोरङको उर्लाबारीमा भएको आगलागीमा पाँच जनाको मृत्युु
मोरङको उर्लाबारी आगलागी घटनामा परेर थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति उर्लाबारी– ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।
कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।
उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको हो ।
मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार रामनरेश मरितासहित हालसम्म पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।