मंसिर ७ गते दुर्गा प्रसाईं समूहको प्रदर्शन काठमाडौंको बल्खु चोकमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको बल्खु चोकलाई केन्द्र तोकेका छन्। सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन्।
उनले भने, ‘कार्यक्रम दिउँसो १ बजे सुरु गर्ने छौँ।’ यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन।
आज भने प्रदर्शनस्थल बल्खु चोकलाई तोक्ने निर्णय भएको कार्कीले जानकारी दिए। यसका लागि प्रसाईं समूहले केही दिनदेखि तयारी गरिरहेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पुतलीसडक, माइतीघर र बानेश्वर क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र तोकेको छ।
प्रसाईँको प्रतिवादमा नेकपा एमालेले कोटेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भनेको छ।