दिदीबहिनी एवम् दाजुभाइ नहुनेले बालगोपालेश्वर र खञ्जनेश्वर महादेवमा टीका लगाउँदै – Nepalboli

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले बालगोपालेश्वर र खञ्जनेश्वर महादेवमा टीका लगाउँदै

   २९ कार्तिक २०८०, बुधबार  

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौं महानगरपालिका वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए। यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै