थवाङ विचार र क्रान्तिको प्रतीक हो – प्रधानमन्त्री
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन्। शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो।’
थवाङ विचार र क्रान्तिको प्रतीक रहेको उनको भनाइ छ। विचार र गुणात्मक परिवर्तन थवाङले नै दिएको उनले दाबी गरे। उनले भने, ‘एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु।’ थवाङलाई देश मात्र नभई विश्वले नै चिन्ने भन्दै उनले बेला बेला थवाङले संसारलाई नै महत्त्वपूर्ण सन्देश दिने दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’
उनले आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने बताए। महाधिवेशनमार्फत् विचारको विकास र र संश्लेषण पनि गर्ने उनको भनाइ छ। ‘समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ,’ उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ।’