मौलापुरकी मेयर साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । साथै नगर प्रमुखको पदमा रही कामकारवाही गर्न दिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी श्रीमती हुन् । पहिलो स्थानीय चुनावमा माओवादीबाट मेयर जितेकी उनी नेकपा कम्युनिस्ट पार्टी (नेकपा) हुँदै एमालेमा पुगिन् । २०७९ को स्थानीय निर्वाचनमा साह एमालेबाट मौलापुरको मेयर निर्वाचित भइन् । तर मंसिर २०७९ को निर्वाचनको उम्मेदवारी दर्ताको दिन प्रभु साहले एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिए ।
स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका प्रतिनिधिसभा सदस्य साहले अहिले आम जनता पार्टीको अध्यक्ष छन् । पछिल्लो पटक एमालेले मेयर साहले दल त्याग गरेकाले पद स्वतः रिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गर्यो ।
आयोगले असोज २९ साह पदमुक्त भएको निष्कर्ष निकाल्यो र पद रित्त भएको सूचना जारी गर्यो । तर आफूले दल त्याग नगरेकाले निर्वाचन आयोगको सूचना संविधान र कानुन विपरित भएको दाबी गर्दै साह अदालत गइन् । सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म साहलाई पदमुक्त गर्ने निर्णय कार्यावयन नगर्न शुक्रवार अन्तरिम आदेश दिएको छ ।