सामाजिक सञ्जाल सूचीकृत गर्नुपर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित – Nepalboli

सामाजिक सञ्जाल सूचीकृत गर्नुपर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित

   २३ कार्तिक २०८०, बिहीबार  

फेसबुक, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता हुनु पर्ने गरी निर्देशिका सरकारले तयार पारेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० ले सामाजिक सञ्जाल दर्ता गराउनुु पर्ने नियम ल्याएको छ ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना प्रकाशित हुनेछ। सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ।

सूचिकरणका लागि प्लेटफर्म सञ्चालक आफैं उपस्थित भई वा प्रतिनिधिमार्फत् अनलाइनबाट पनि निवेदन दिन सक्ने प्रावधान छ। सूचीकृत नभए कुनै पनि बखत सरकारले बन्द गर्न सक्ने प्रावधान निर्देशिकामा राखिएको छ।

निर्देशिका जारी भएको तीन महिनाभित्र सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालभित्र सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ। सामाजिक सञ्जाल प्लेटफर्महरुले अब कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ।

सरकारले यस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरुले कानुन विपरीतका सामाग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सो को पहिचान र यकिन गरी २४ घण्टाभित्र हटाउनुपर्ने प्रावधान राखेको छ।

सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका लागि सञ्चार मन्त्रालयमा इकाइसमेत गठन गर्ने भएको छ।

यस्तो इकाइले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी गुनासो दर्ता गर्ने, कुनै व्यक्तिले ठगिएको, हैरानी दिएको वा गाली गरेको स्क्रिनसट पेश गरेरनगरेको यकिन गर्ने, तथ्य जाँच गर्ने, सरकारले तयार पारेको निर्देशिकाविपरीत प्रकाशित वा प्रशारित सामाग्री हटाउन सम्बन्धित प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क कार्यालयलाई ४८ घण्टाभित्र लेखि पठाउनेछ।

इकाइमा भने सूचना तथा सञ्चार मन्त्रालयले जनशक्ति भर्ती गर्नेछ। निर्देशिकाले प्रयोगकर्ताले गर्न हुने र नहुने कामसमेत तोकेको छ।

राजपत्रमा प्रकाशन गरेपछि यो निर्देशिका लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै