पूर्वउपप्रधानमन्त्रीहरू देखि पूर्वसभामुखसम्मका ४५ नेताहरुको पिएसओ एकैपटक फिर्ता

एकैपटकमा ४५ जना नेता तथा अवकाशप्राप्त पदाधिकारीहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता गरेको छ । उनीहरूले नियमविपरीत पिएसओ सुविधा लिँदै आएका थिए । पुर्वउपप्रधानमन्त्री देखि पसर्वसभामुख सहित केअि अवकाश प्राप्त उच्च पदस्त कर्मचारीहरुको वाट पिएसओ एकैपटक फिर्ता गरिएको छ ।
४५ जनाको सुरक्षामा खटिएका ५८ जना प्रहरी फिर्ता भएका छन् । यसरी पिएसओ फिर्ता गरिएकाहरू प्रभावशाली नेताहरू छन् । मापदण्डअनुसार खटिने समय सकिएको र उनीहरूलाई पिएसओ आवश्यक नभएको निष्कर्षका आधारमा फिर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हालै संसद्को राज्य व्यवस्था समितिले पनि विवरण माग्दै नियमविपरीत खटिएका सुरक्षाकर्मी हटाउन निर्देशनसमेत दिएको थियो । सोही निर्देशनलाई समेत आधार बनाई मापदण्डअनुसार नपरेकाको हकमा फिर्ता गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘५० जनाभन्दा धेरै पिएसओलाई फिर्ता गरेका छौँ, लामो समयदेखि खटिएकाले उनीहरूलाई रिफ्रेसर तालिम पनि सुरु भएको छ,’ उनले भने, ‘मापदण्डले समेट्ने र गृह मन्त्रालयले निर्णय गरेको आधारमा मात्र खटाइन्छ ।’
यसरी पिएसओ तानिनेमा पूर्वगृहसचिवदेखि पूर्वसभामुखसम्म छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, उपेन्द्र यादव, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, रघुवीर महासेठ तथा राजेन्द्र महतोको सुरक्षामा खटिएका प्रहरीहरू फिर्ता गरिएका हुन् । कोइरालाको सुरक्षामा एकजना तथा अन्यको दुईजना खटिएका थिए । पूर्वसभामुखले पदबाट हटेको तीन वर्षसम्म तथा अन्यले दुई वर्षसम्म पिएसओ सुविधा पाउने व्यवस्था छ । त्यसविपरीत उनीहरूले सुरक्षा लिँदै आएका थिए ।
पूर्वमन्त्रीहरू गोकुलप्रसाद बाँस्कोटा, गिरिराजमणि पोखरेल, विना मगर, खड्गबहादुर विश्वकर्मा, गगनकुमार थापा, महेश बस्नेत, मणिचन्द्र थापा, प्रभु साह, लेखराज भट्टका पिएओ पनि हटाइएको छ । पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, राम कार्की, पार्वत गुरुङ, जुलीकुमारी महतो, शिवमाया तुम्बाहाम्फे, पद्माकुमारी अर्याल, हृदयेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, प्रदीप ज्ञवाली, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, उमाशंकर अरगरिया, नैनकला थापा, वसन्तकुमार नेम्वाङ, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, आशाकुमारी विकको पनि फिर्ता गरिएको छ । पूर्वमन्त्रीले पनि पदबाट हटेको दुई वर्षसम्म मात्र पिएसओ पाउने सुविधा छ ।
त्यस्तै, पूर्वअर्थराज्यमन्त्री तथा हाल लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त भएका ल्यारक्याल लामाको पनि फिर्ता भएको छ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, लोकसेवा आयोगकी पूर्वसदस्य वृन्द्रा हाडा, लोकसेवा आयोगका पूर्वसदस्य अशोककुमार झा, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि फिर्ता गरिएको छ ।
त्यस्तै, स्वर्गीय पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको घरमा पनि सुरक्षाकर्मी कार्यरत रहेकाले उनीहरूलाई पनि फिर्ता गरिएको छ ।
फिर्ता गरिएकामध्ये केहीले भने प्रहरी नेतृत्वलाई दबाब दिएर फिर्ता गराउने प्रयास गरिरहेका छन् । केहीलाई साँच्चिकै सुरक्षा जोखिम देखिएमा भने फिर्ता गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअनुसार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका पिएसओ भने मंगलबार फिर्ता गरिएको छ ।