मदरसाका प्रशिक्षक नै बालिका हत्या आरोपमा पक्राउ परेपछि गाउँपालिकाले बन्द गर्‍यो मदरसा – Nepalboli

मदरसाका प्रशिक्षक नै बालिका हत्या आरोपमा पक्राउ परेपछि गाउँपालिकाले बन्द गर्‍यो मदरसा

   २०८० कार्तिक २२, बुधबार  

१५ वर्षीया किशोरीको बलात्कार र हत्या भएको घटनालाई लिएर गुल्मीको एक मदरसा बन्द भएको छ। चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द भएको हो।

गत कात्तिक १७ गते बिहान चन्द्रकोट ४ हुग्दी खोलामा १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन्। किशोरी नग्न अवस्थामा फेला परेकी थिइन्। किशोरी मृत फेला परेपछि उनको हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका वडा नम्बर ७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको थियो। उनी मदरसाका प्रशिक्षक हुन्।

यस घटना बाहिरिएपछि चन्द्रकोट गाउँपालिकाले उक्त मदरसाको अनुमती रद्द गरेको छ।

किशोरीको बलात्कार र हत्या आरोपमा प्रशिक्षक रहिस पक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्द गर्न सोमबार गाउँपालिकालाई पत्र लेखेको थियो। सोही पत्रका आधारमा मदरसा सञ्चालन अनुमति रद्द गरेको गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले बताए।

किशोरीको हत्या अभियोगमा पक्राउ परेका खाँमाथि थप अनुसन्धानका लागि सोमबार जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रशिक्षक खाँ केही महिनाअघि मात्रै मदरसाको प्रशिक्षक भएर चन्द्रकोट गएका थिए।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै