संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने
संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको छ । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न प्रतिनिधि सभाका सदस्यहरुको एक टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने तय भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीमा ९ सदस्य रहने छन् । सभामुख देवराज घिमिरेले सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।
सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका हुन् ।
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने बताएका छन् । उनका अनुसार अनुगमन टोलीमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत छन् ।
सभापति खतिवडाले जहाज तथा यातायात खर्च व्यक्तिगत तवरबाटै गर्ने बताएका छन् । उनले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएको बताएका छन् ।