परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री तथा अमेरिकी वित्त निगमका प्रमुख विच भेटवार्ता – Nepalboli

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री तथा अमेरिकी वित्त निगमका प्रमुख विच भेटवार्ता

   १५ कार्तिक २०८०, बुधबार  

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गरेका थिए। परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।

मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरे। मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध गरे।

मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए। उनीहरुबीचको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताएका थिए।

अमेरिकी विदेशमन्त्री संगको भेट पछि परराष्ट्रमन्त्री साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन्। उनीहरुबीच निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ।

सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै