संसदीय समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदहरुको माग
सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु कागजमा मात्रै सीमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन्। मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सदस्य कालुराम राईले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन भएरनभएकोबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले समितिको बैठक धेरै नै बसे पनि त्यसको उपलब्धि मूल्यांकन हुन नसकेको बताए।
समिति सदस्य विद्या भट्टराईले समितिमा सरोकारवालाहरुले माग सम्बोधनका लागि निवेदन दिने क्रम बढेको बताइन्। उनले समितिमा उजुरी दिनेको संख्या बढे पनि समितिमा उठेका मुद्दाहरुलाई सार्थकतामा परिणत गर्नुपर्ने बताइन्।
भट्टराईले समितिमा दर्ज भएका उजुरीहरुलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले समितीसँग न्याय खोज्न आउने क्रम बढेको बताइन्।