नीति बनाउनका लागी सुझाव बटुल्दै रास्वपा

जिल्ला–जिल्ला पुगेर सर्वसाधारणको धारणा र भावना बुझेर फर्केको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञहरूका सुझाव बटुलेर पार्टीको भावी नीति तथा कार्यक्रम बुन्न सोमबारदेखि काठमाडौंमा ‘नीति मन्थन’ आयोजना गरेको छ । शासकीय व्यवस्था, आर्थिक अवस्था, अन्त्राष्ट्रिय सम्बन्ध, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन, वातारण र जलबायु परिवर्तनलगायतका मुद्दामा विज्ञसहित रास्वपाका नेता कार्यकर्ताले छलफल गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको नीति तय गर्नका लागि नागरिककहाँ प्रश्न लिएर गएको र अब विज्ञहरूका कुरा सुन्नका लागि नीति मन्थन गरिएको बताए । ‘चुनावपछि नीति, कार्यक्रम बनाउने गरी होइन । हामी हाम्रा नीति कार्यक्रम चुनावअघि नै तर्जुमा गर्दैछौं । ०८४ पछि नीति बनाउने होइन । नीतिअनुसार काम गर्ने हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असोज ३ मा पहिलो चरणको जनआवाज सुन्ने कार्यक्रमअन्तर्गत म रोल्पा पुगें, पार्टीका अरू साथीहरू अन्य गाउँहरू पुगे । गाउँबाट जनताको कुरा सुनेपछी, अब काठमाडौंमा विज्ञको कुरा सुन्दैछौं ।’
राजनीतिक दलप्रति जनआक्रोश रहेको बताउँदै लामिछानेले उनीहरूको आक्रोश सुनेपछि मुलुकका विज्ञहरूबाट कुरा सुनेर पार्टी नीति तय गर्ने जनाए । रास्वपाको दुई दिने ‘नीति मन्थन’ मा सात वटा सत्र र ३३ जना वक्ता रहेका छन् । पहिलो दिन ५ विषयमा विज्ञहरू छलफलमा जुटे । शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा नयाँ प्रविधि र युवा पूर्वाधार, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण, कृषि पर्यटन र हरित औद्योगिकीकरणका विषयमा छलफल भयो । पहिलो सत्र शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र शीर्षकमा राजनीतिक विश्लेषक सीके लाल, प्राध्यापक तथा नागरिक अगुवा सञ्जीव उप्रेती, शिक्षाविद् अमिना सिंह र अनुसन्धानदाता उत्तमबाबु श्रेष्ठ वक्ता थिए ।