इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको फोनवार्ता – Nepalboli

इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको फोनवार्ता

   २०८० आश्विन २३, मंगलवार  

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरी हमासको आक्रमणमा ज्यान गुमाएको १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री साउद र समकक्षी कोहेन बीच मंगलबार दिउँसो भएको कुराकानीमा मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका हुन् ।

‘इजरायलमा १० जना नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ । उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो’, कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो । दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ ।’

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए । साउदले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक रहेको भन्दै थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने जानकारी कोहेनलाई गराएका छन् ।

त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने इजरायली विदेशमन्त्री कोहेनसँग बताए ।

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । उनले आक्रमणपछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरेका छन् ।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्धता समेत जाहेर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै