झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार, तत्कालीन मन्त्री र सचिवसहित ७ जनाविरुद्ध मुद्दा

सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल सरकार र मधेस प्रदेशको बजेटले आर्थिक दायित्व बेहोर्ने गरी केन्द्र स्थापनार्थ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) का लागि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । अख्तियारले मधेस सरकारका तत्कालीन मन्त्री विजय कुमार यादव, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी तथा र सदस्य देवेन्द्र रायलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको रकम असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरूविरुद्ध सर्त र सम्झौताअनुसार काम नै नगरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ । आर्थिक दायित्व शून्य रहेको गैरसरकारी संस्थालाई राज्यको ढुकुटीबाट हुने खर्चको सबै अधिकार रकम हिनामिना गर्ने नियतले नै दिइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।