एमाले र माओवादीबीच पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ- वर्षमान पुन – Nepalboli

एमाले र माओवादीबीच पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ- वर्षमान पुन

   २०८० आश्विन २०, शनिबार  

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै उनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन्।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।

‘हिजो हामीले नेकपा बनायौं। यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिष्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, उनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौं।’

पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटक सम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै