जित्दा उन्माद र हार्दा निरास हुने अवस्था आउन हुन्न – ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक चुनाव जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निरास हुने अवस्था आउन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्तालाई अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरे ।
पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको बताए ।
उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टीकाटीप्पणी गर्ने मौका दिन नहुने ओलीको भनाइ थियो । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए।
ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्यांकन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिनसक्ने बताए। पार्टीको आन्तरिक चुनावलाई जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निरास हुने अवस्था आउन दिन नहुने उनको जोड थियो।
ओलीले भने, ‘यहाँ प्रतिस्पर्धा जितेर के–के न ठूलो कुरो पाइने होइन । फेरि सबैले जित्ने होइन, एउटाले जित्छ । अर्काले हारेपछि मन दुख्छ । सहमति गर्यो भने मन दुख्दैन ।’
उनले सहमति भएन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर आफूहरुले भनेको, तर विपक्षी र सञ्चारमाध्यमहरुले यसलाई नसुनेको उनको गुनासो छ । ‘कसैलाई न निर्देश गरिएको छ, न आदेश गरिएको छ’ उनले अघि भने, ‘स्वच्छ प्रतिष्पर्धा गर्नुस् भनेको नसुनेर सहमति कायम गर्नुस् भनेको थियो, मानेनन् भन्ने मात्रै प्रचार गरे ।’