एमाले गण्डकीको नेतृत्व चयनका लागि मतदान जारी
नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको हो । मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने तयारी गरिएको छ ।
एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ। बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो। गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
५ पदाधिकारीमा १० जनाको उम्मेदवारी कायम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए। अहिले २ सय ७७ जनाको उम्मेदवारी कायम रहेको छ। ३१ जना सदस्य निर्विरोध निर्वाचित भइरसकेका छन्।
यसअघि लुम्बिनी, बागमती, कोशी र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ। लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन्।