प्रतिनिधि सभामा शिक्षा विधेयक पेश
प्रतिनिधि सभामा शिक्षा विधेयक २०८० पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् । गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।
अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा सभामै छलफल हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ ।
यही बेला शिक्षकहरुसँग भएको सहमति सरकारको तर्फबाट स्वीकार हुने सहमति शिक्षकका प्रतिनिधिहरुसँग भएको छ । सभामा विधेयक अगाडि बढेसँगै शिक्षक महासंघका प्रतिनिधिहरुले राजनीतिक दलहरुसँगको भेटघाट समेत बढाएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गतेका लागि बोलाइएको छ ।