राष्ट्रसंघमा नेपालको यो पटक महत्वपुर्ण उपस्थिती रह्यो – प्रधानमन्त्री – Nepalboli

राष्ट्रसंघमा नेपालको यो पटक महत्वपुर्ण उपस्थिती रह्यो – प्रधानमन्त्री

   १४ आश्विन २०८०, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक नेपाल महत्वपुर्ण ढंगले देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमणसमेत गरी फर्किएपछि त्यसबारे सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

“नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तनबाट सिर्जित समस्या र त्यसको समाधानका लागि स्रोत विभाजनका विषयमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु,” प्रधानमन्त्रीले भने, “महासभाको मूल समारोहका अलवा दिगो विकास समिट, जलवायु परिवर्तनसम्बन्धी क्लाइमेट समिटसहितलाई सम्बोधन गरेको थिएँ । यी सम्बोधनहरुमा नेपालसहित अतिकम विकसित राष्ट्रहरुका तर्फबाट पनि कुरा राखेका थिएँ । त्यसमा गरिब मुलुकहरुको अर्थतन्त्रमा कोभिडसहितले अर्थतन्त्रमा पारेको प्रभाव र समाधानका विषयमा विश्व समुदायले गर्नुपर्ने कामका विषयमा राखेको छु ।”

उनले महासभाकै दौरान राष्ट्रसंघका महासचिव, अमेरिकी राजदूतसहितसँग भएको भेटवार्तामा गम्भीर छलफल गरेको पनि जानकारी गराए । उनले महत्वपूर्ण विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको भन्दै नेपाल यसपटक राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको बताए ।

“हामीले शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि विश्व समुदायलाई धन्यवाद दिएका छौँ,” प्रधानमन्त्री दाहालले भने, “यसपटक हामीले जलवायु परिवर्तनसहितका अन्तर्राष्ट्रिय मुद्दामा अतिकम विकसित राष्ट्रहरुको तर्फबाट र नेपालका तर्फबाट पनि स्पष्ट कुरा राखेका छौँ । समग्रमा यसपटक नेपाल राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल र चीनको सम्बन्ध जनस्तरसम्म विस्तार भएको समेत दावी गरेका छन ।

आइतबारको प्रतिनिधिसभा बैठकमा चीा भ्रमणबारे समेत जानकारी दिँदै उनले चीन भ्रमणले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भाव बढेको दाबी गरे ।

“चीनको भ्रमणले चार वर्ष लामो नेतृत्व तहबाट एकअर्का मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य भएको छ,” उनले भने, “राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार मा दुईपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ । नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावना विशेष रुपले अभिवृद्धि भएको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै