दललाई रवि लामिछानेको चेतावनी – घण्टी बजाएर नै सचेत गराएको छु, सोच्नु होला – Nepalboli

दललाई रवि लामिछानेको चेतावनी – घण्टी बजाएर नै सचेत गराएको छु, सोच्नु होला

   २०८० आश्विन १२, शुक्रबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना दलहरुलाई सुझाव दिएका छन्। पुराना दललाई सहमतीय सरकार बनाउन अपिल गर्दै उनले आफ्नो पार्टीले प्रतिपक्षी मोर्चा सम्‍हाल्ने बताएका छन्।

लामिछानेले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अबको ४ वर्ष तपाईंहरु सबै मिल्नूस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनूस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।’

उनले भनेका छन्,‘मिसन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त ! मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नूस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनूस्।’

उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन‍्। ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्।’

४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनूस् हामी सबैलाई। राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर१ कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।’

उनले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

उनले लेखेका छन् –

सम्पूर्ण पुराना दलहरूलाई अपिल

देशमा ब्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा।

तर ‘मिसन ८४’ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त ! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन८१, मिसन८२, मिसन ८३ छँदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्।

४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै