एमाले कोशी प्रदेशको अधिवेशन आजबाट सुरु हुदै
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित होटेल मनासलुमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली केही बेरमा विराटनगर आउँदै हुनुहुन्छ ।
अधिवेशनको सबै तयारी पूरा भइसकेको एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधिले भाग लिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यद्यपि प्रदेश कमिटीले मनोनयन गर्ने कोटाका ५० जना प्रतिनिधि अहिलेसम्म छनोट गरेको छैन । त्यसबाहेक ९९७ जना प्रतिनिधिहरू विभिन्न जिल्ला, महानगर, जन वर्गीय सङ्गठनहरूबाट चुनिएर आइसकेको उहाँले जानकारी दिनुभयो ।
शुक्रवार र शनिवार अधिवेशन गर्ने निर्णय गरिएको भए पनि सर्वसम्मतिबाट नयाँ नेतृत्व नटुङ्गिएमा निर्वाचन प्रक्रियामा जानुपर्दा अधिवेशन लम्बिन सक्ने उहाँले बताउनुभयो । यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेले बताउनुभयो ।