एमाले बाग्मतीको अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार, मतदान भोलि बिहान – Nepalboli

एमाले बाग्मतीको अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार, मतदान भोलि बिहान

   २०८० आश्विन ११, बिहीबार  

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने उनले बताए ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् ।

यस्तै साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएर दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेका छन् ।

अहिले सहमतिको प्रयास जारी भएकाले आज ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल र दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नहुने बुझिएको छ ।

निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङका अनुसार आज राति ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यतिबेलासम्म सहमतिको प्रयास जारी रहने उनको भनाइ छ ।

निर्वाचन कार्यतालिका यसअघि दुईपटक परिवर्तन भइसकेको छ । आज बिहान ११ बजे हुने भनिएको मतदान अहिले साँझ ६ बजेसम्मका लागि सारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै