कात्तिक २४ र २५ गते कांग्रेसको इकोनोमी कन्क्लेभ हुने

कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर नेपाली कांग्रेसले दुुई दिने ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा कात्तिक २४ गते गर्न लागिएको हो ।
सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए । कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।
पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिने महामन्त्री गगन थापाले जानकारी गराए । आर्थिकको अहिलको संकटका कारणहरु खोज्ने बताए । केन्द्रमा हुने बहस गम्भिर सैद्धान्तिक विषयमा हुने थापाले जानकारी दिए ।
२०४६ सालपछि आर्थिकको पक्षमा कांग्रेसले अंगालेको नीति कति ठीकरकति बेठीक विषयमा पनि छलफल हुनेछ । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडीको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ थापाले भने ।
कांग्रेसले केन्द्रमा मात्रै अर्थनीतिको चर्चा नगरि तल्लो तहमा पनि बहस गर्ने भएको छ । सातवटै प्रदेश र सबै पालिकामा अर्थनीति माथि छलफल गरिने महामन्त्री थापा बताउँछन् ।
तल्लो तहमा हुने कार्यक्रममा स्थानीय उद्यमीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । महामन्त्री थापा भन्छन्, ‘त्यहाँको आर्थिक अवस्था र सम्भावनाको विषयमा छलफल गर्छौं ।’
इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसायिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।