सांसद विनोद चौधरीको भारतको राजस्थानस्थित वाइवाई कम्पनीमा आयकरको छापा
नेपाली काग्रेसका नेता तथा सांसद विनोद चौधरीको भारतको राजस्थानस्थित वाईवाई कम्पनीमा आयकर विभागले छापा मारेको छ । जयपुरस्थित वाईवाई कम्पनीले आयकर छलेको आशंकामा छापा मारिएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो दिउँसो जयपुर,दौसा र सिकरमा छापा मार्ने क्रममा चौधरीको कम्पनीमा पनि विभागका अधिकारीहरु पुगेका थिए । समाचारमा भनिएको छ, ‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ ।’
वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका छ । उनले सिजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन् ।
चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको,यताको रकम अन्यत्र लगेको आरोप लाग्दै आएको छ । उनले करमुक्त राष्ट्रहरुमा करोडौं डलर पुर्याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ ।
नेपाल सहित विदेशमा समेत राम्ररी व्यापार व्यवसाय फैलाएका चौधरी पछिल्लो समयमा राजनितीमा लागेका छन । गएको निर्वाचनमा उनी नेपाली काग्रेसको तर्फवाट नवलपरासीवाट प्रत्यक्ष निवार्चित भएका छन भने काग्रेसको १४ औ महाधिवेशनमा उनी मधेशी कोटावाट केन्द्रिय सदस्यमा समेत निर्वाचित भएका छन ।